हतियार किन्न दशगजाको धान चोर्दा समातिएँ : मन्त्री यादव
loading...

गत माघ ५ गते मध्यरातमा तत्कालीन संविधासभामा तोडफोड हुँदा अग्रपंक्तिमा देखिएका उमेशकुमार यादव यतिबेला सिंचाइ मन्त्री बनेका छन् । मन्त्री बनेपछि धेरैले यादवलाई तोडफोड गर्ने मन्त्रीका रुपमा बुझेका छन् । तर, उनको राजनीतिक जीवन निकै उतार-चढावपूर्ण छ ।
पहिलो संविधानसभामा पराजित भएका यादव दोस्रो संविधानसभामा सप्तरी-३ बाट निर्वाचित भए । गत माघ ५ गते मध्यरातमा संविधानसभाको कुर्ची उचालेर भाँँच्न लागेको तस्वीरले उनलाई चर्चित बनायो ।

मन्त्री बनेपछि खुशी देखिएका यादव बेलुका अबेरसम्म मन्त्रालयमै भेटिन्छन् । सिंचाइमन्त्रीको कुर्सीमा आसीन यादवलाई भेट्न बेलुकापख मन्त्रालयमा पुग्दा उनी मधेसी नेता कार्यकर्तासँगको भेटघाटमा ब्यस्त थिए ।

मधेसी नेताहरुसँगको भेटघाटलाई बीचमै रोकेर भेट दिएका उनले आफ्नो मन्त्रालयलाई सिंचाइ होइन, जलस्रोत भन्नुपर्नेबाट कुराकानीको थालनी गरे ।

राप्रपाबाट माओवादीमा

मन्त्री यादव ०४४ सालसम्म कुनै पनि राजनीतिमा सक्रिय थिएनन् । ०४४ सालमा एसएलसी दिएर कलेज छिरेपछि मात्रै राजनीति शुरु गरेका हुन् उनले ।

एसएलसी दिँदासम्म राजनीतिमा कुनै चासो नराखेका यादव सप्तरी लालापट्टीमा जन्मिएका हुन् । लालापट्टीमा स्थानीय चन्द्रकिशोर मण्डलले स्थानीयरुपमा युवा क्लव जन्माएपछि मात्रै उनी संघ/संस्थाहरुमा आवद्ध भए ।

क्लवमा जोडिएपछि सामाजिक सेवामा लाग्नुपर्ने भावना जागेका उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भए । राप्रपामा भए पनि ०५२ साल जेठतिर माओवादी नेता मात्रिका यादवसँगको भेटपछि माओवादी झुकाव बढ्दै जाँदा राप्रपामै रहेर माओवादीलाई सहयोग गरेको उनी सम्झन्छन् ।

‘त्यतिबेला केदार यादव र म दुवैजना राप्रपामा थियौं’, मन्त्री यादवले सम्भिँए, ‘सिन्धुलीका कमल देवकोटाले मलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चाबाट माओवादीमा आवद्ध गराएका हुन् ।’

राप्रपा छाडेर माओवादी बनेका यादव माओवादी सेल सेक्रेटरी, एरिया समिति सदस्य, जिल्ला कमिटी सदस्य, ब्यूरो सदस्य हुँदै अहिले केन्द्रीय समितिमा पुगेका छन् ।

माओवादीको जनवर्गीय मोर्चा मधेस राष्ट्रिय मुक्ति मोर्चाबाट राजनीतिक जिम्मेवारी सम्हालेका उनी गाउँ, कमिटी, जिल्ला कमिटी उपाध्यक्ष, अध्यक्ष हुँदै पार्टीको सप्तरी ‘जनसरकार प्रमुख’ पनि भए ।

लडाकु स्वभावका भएकैले उनले जनमिलिसियाको जिम्मेवारी पनि पाए । त्यसपछि वाईंसीएलको धनुषा संयोजक हुँदै वाईसीएलकै मिथिला संयोजक बने । एकीकृत माओवादीसँग विभाजित भई मोहन वैद्य समूहले नयाँ पार्टी बनाएपछि मात्रै उनले पार्टीको सप्तरी जिल्ला संयोजकको जिम्मेवारी पाएका थिए ।

विद्यार्थी जीवन

यादवको स्कुले जीवन गाउँमै बितेको हो । विद्यालय तहमा उनको पढाइ अब्बल नै थियो । पढाइमा राम्रै भएकाले उनी चार कक्षा उतीर्ण गरेपछि ५ कक्षा नपढी ६ कक्षामा भर्ना भएका थिए ।

सप्तरीको लालापट्टी गाउँको विद्यालयमा पढेका यादवले ०४४ सालमा एसएलसी उतीर्ण गरे । उनले एसएलसी दिँदाको सिम्बोल नम्बर अहिले पनि सम्झन्छन् । मेरो एसएलसीको सिम्बोल नम्बर ११४१४ हुनुपर्छ, उनले सुनाए ।

एसएलसी पास गरेपछि फरेष्ट्री पढ्न चाहेका यादव सप्तरीकै राजविराज क्याप्पसमा भर्ना भई आइए पढ्न थाले । प्रमाणपत्र तह अध्ययनपछि भने उनी काठमाडौ आए । ०४८ सालमा पाटन क्याम्पसमा बीएससीमा भर्ना भए । पाटन क्याम्पसमा पढ्न थालेपछि उनले पहिलोपटक तराई विद्यार्थी समन्वय समितिमा संगठित भई विद्यार्थी राजनीति गरे । ‘त्यतिबेला मधेसी राजनीति गर्नेलाई कांग्रेसी वा सदभावना पार्टी ठान्ने गरिन्थ्यो’- यादव बताउँछन् ।

दशगजाको धान चोर्दा समातिएँ

मन्त्री यादवका हजुरबुवा निकै जाँगरिला थिए । उनी फुर्सदको समयमा पनि कुनै न कुनै काम गरेकै हुन्थे । हजुरबा सधैं श्रमसँग जोडिने गरेको सम्झँदै यादवले आफू हजुरबुवा जस्तो बन्न नसकेको बताए । हजुरबुवाका पौरखी हातहरुबाट प्रभावित उनी सम्पन्न परिवारका भए पनि विद्रोही थिए । त्यसैले उनले त्यतिबेला सामन्तविरुद्ध लड्ने मानसिकता बनाए । तर, सामन्तसँग लड्ने कुनै समूह भेटाएनन् ।

धनी-गरिबबीचको विभेद अन्त्य गर्न भन्दै ‘इन्सान’ नाटकबाट रंगमञ्चमा प्रवेश गरेका उनले शुरुमा नोकरको भूमिका निर्वाह गर्ने गरेको स्मरण गर्छन् ।

यादवमा त्यतिबेला विना संगठन हतियार मोह जाग्यो । स्थानीय सम्पत्तिलाल यादव (मृत्यु भइसकेको) लगायतका युवाहरु मिलेर हतियार किन्ने योजना बन्यो । तर, हतियार किन्ने पैसा उनीहरुसँग भएन ।

‘मैले त बुवासँगबाट पैसा फुत्काएँ, तर अरु साथीहरुसँग पैसा भएन’, मन्त्री यादव भन्छन्, ‘त्यसपछि दशगजा क्षेत्रको धान चोर्ने योजना बनायौं ।’ धान चोरी गर्दा आफूहरु समातिएपछि हतियार किन्ने योजना ‘एक्सपोज’ भएको ०४५ साल मंसिर १६ गतेको घटना उनले जीवनमा कहिल्यै बिर्सदैनन् ।

त्यतिबेला दशगजाको धान चोर्ने यादव अहिले सिंचाइ मन्त्री बनेका छन् । पहिलोपटक मन्त्रीको अनुभव बटुल्दै गरेका उमेशकुमार यादवलाई आफूले चोरेको धानखेतमा मात्र होइन, देशका कति ठाउँमा सिंचाइ पुर्‍याउलान् त्यो भने हेर्न बाँकी छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस