चीनले दिने शुन्य भन्सार सुविधा मंसिरभित्रै लागू हुने
loading...

चीन सरकारले नेपाली बस्तुलाई दिने भनेको शुन्य भन्सार सुविधा मंसिर २४ गतेसम्ममा लागू भइसक्ने बताएको छ । चीनको ट्यारिफ कमिसनले हालै यस्तो निर्णय गरेको चिनियाँ पत्रिका पिपुल्स डेलीले लेखेको छ ।
चीन सरकारले गएको मंसिरमा ८ हजार ३० नेपाली वस्तुहरुलाई शून्य भन्सार दरमा आफ्नो मुलुकमा प्रवेश दिने सहमति गरेको थियो । सम्झौतापत्रमा तत्कालिन वाणिज्य सचिव नारायण गोपाल मलेगो र नेपालका लागी चिनियाँ राजदूत वु चुन्ताईले हस्ताक्षर गरेका थिए ।
नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई व्यापार विस्तारमा सहयोग पुर्‍याउन चीनले यस्तो सुविधा दिएको हो । सम्झौतापत्रमा शुन्य भन्सार सुविधा २०१५ को डिसेम्बरभित्र कार्यान्वयनमा ल्याउने सहमती भएको थियो ।
यसअघि चीनले सन् २००७ मा ४ हजार ७ सय २१ वटा नेपाली वस्तुहरुलाई शुन्य भन्सार दरमा प्रवेश सुविधा दिएको थियो । सन् २०१२ मा उक्त संख्या बढाएर ७ हजार ७ सय ८७ पुर्‍याएको थियो ।
चिनियाँ सरकारबाट प्राप्त यो सुविधासँगै नेपालबाट चीन निर्यात हुने ९७ प्रतिशत वस्तुहरुले शून्य भन्सार दरमा प्रवेश पाउने भएका छन् । यसले नेपाली वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमता बढाई निर्यात बढाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।
शून्य भन्सार सुविधा प्राप्त गर्ने वस्तुहरुमा कृषि तथा गैह्रकृषि दुबै वस्तुहरु रहेको बताइएको छ ।
अति कम विकसित राष्ट्रहरुले बेहोर्नु परेको व्यापार घाटालाई कम गर्ने र उनीहरुको प्रतिस्पर्धात्मक क्षमता विका गरी व्यापार बढाउनका लागि विश्वका विकसित र विकाशिल मुलुकहरुले व्यापारमा सहुलियतपूर्ण व्यवहारहरु कार्यान्वयन गर्दै आएका छन् ।
चीन नेपालका लागि भारतपछि दोस्रो ठूलो व्यापारिक मुलुक हो । हरेक वर्ष नेपालको चीनसँगको व्यापार घाटा उच्च दरले बढ्दै गइरहेको छ । पछिल्लो समय भारतले नाकाबन्दी गरेपछि नेपालले चीनसँगको व्यापार फराकिलो बनाउन खोेजेको छ ।
भारतले इन्धन उपलब्ध गराउन छाडेपछि नेपालमा पहिलो पटक चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सम्झौता गरिसकेको छ । चीनले पनि नेपालसँगको व्यापार फराकिलो बनाउन विभिन्न नाकाहरुको स्तरोन्नती गर्ने सम्झौता गरिसकेको छ ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस