पेट्रोल चोर्ने हाकिमले कुखुरा र बँदेल पनि छाडेनन् !
loading...


काठमाडौं । पेट्रोल पम्पहरुमा रिमोट जडान गर्ने भारतीय मिस्त्रीहरुबाट सुरु भएको प्रहरी अपरेशनको जालोमा दुई ‘ठूला माछा’ अर्थात् सहसचिवसम्म तानिएका छन् । यसबाट प्रहरीले तेल तस्करी र कालोबजारीको जालो छिचोलेको छ ।

प्रहरीको अपराध महाशाखाले सुरु गरेको ‘एन्टी मंगर अपरेशन’का क्रममा आइतबार आयल निगमको थानकोट डिपो प्रमुख रविन शर्मा र गुणस्तर विभागका पूर्वप्रमुख एवं सहसचिव रामआधार साह समातिए । यसले तेलमा हुने खेलहरु धेरै हदसम्म देखिएको छ । यद्यपि अनुसन्धान जारी रहेकाले यसमा अरु पनि पर्न सक्छन् ।

तस्करीका नाइके नम्बर- १

अनलाइनखबरलाई प्राप्त जानकारीअनुसार तेल तस्करी र कालोबजारीका दुई प्रमुख नाइके हुन् रविन शर्मा र रामआधार साह ।

हाल वातावरण मन्त्रालयका प्रवक्ता एवं सहसचिव रहेका साह गुणस्तर तथा नापतौल विभागका क्षेत्रीय निर्देशक तथा महानिर्देशक भए । उनकै पालामा पेट्रोलपम्पहरुमा डिजिटल प्रविधि भित्रिएको थियो । तर, साहले त्यसलाई नै कमाउ धन्दा बनाए ।

अनलाइनखबरको सम्पर्कमा आएका एक पम्प सञ्चालकका अनुसार साहले डिजिटल प्रविधिसँगै तेल ठगीका लागि रिमोट सिस्टमलाई केही भारतीय मिस्त्रीहरुको सहयोगमा नेपालमा भित्र्याएका हुन् ।

भारतबाट आएका मिस्त्रीहरुले केही हजार रुपैयाँ लिएर पम्पहरुमा चिप्स जडान गर्थे । जसबाट १०० लिटरमा ४ लिटरसम्म ठगी हुन्थ्यो । यसरी उपभोक्तालाई ठगी गरेवापत पम्पहरुले साहलाई नियमितरुपमा पैसा बुझाउँथे ।

एक व्यवसायीले अनलाइनखबरसँग भने- उनी आफैं अनुगमनमा आउँथे । उनकै प्रस्तावमा पम्पहरुमा रिमोर्ट कन्ट्रोल जडान भएको हो । र, यस वापत उनी बाषिर्क रुपमा एउटा पम्पबाट १५ देखि २५ हजार रुपैयाँसम्म लिने गर्थे । यस्ता पम्पहरु उपत्यकामा करिब २५ सय वटा छन् ।’

कहिले पत्रिकामा पोको पारेर त कहिले खामबन्दी गरेर आफूले पैसा दिएको ती व्यवसायीले सुनाए ।

यदि कुनै पम्पले उनको प्रस्ताव मानेनन् भने व्यवसायीलाई अनुगमनका नाममा फसाउने गरेको व्यसायीको गुनासो छ ।
अहिले साहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले पनि प्रारम्भिक रुपमा त्यही तथ्य भेट्टाएको छ ।

तस्करीका नाइके नम्बर २

अमलेखगञ्जमा रहँदा नै विवादास्पद बनेका रविन शर्मा शक्तिकेन्द्रको बलमा ०७० साल साउनमा थानकोट डिपो प्रमुख बने । उनले नै तेलमा हुने झेललाई संस्थागत रुपमा सुरु गरेको आरोप लागेको छ ।

शर्मा थानकोटमा गएपछि उनले आफू खुुसी र महिनावारी बुझाउने पम्पहरुलाई मात्रै तेल दिन थाले । उनलाई रिझाएपछि मात्र तेल पाउने भएपछि धेरैले उनलाई लोकल कुखुरा र बँदेलसम्म खुवाए ।

यसरी नै तेल ल्याउने एक पम्प सञ्चालक भन्छन्-पैसा बुझाएन भने उनीबाट तेल पाइँदैन । तेल दिने/नदिने उनकै हातमा थियो । त्यसैले पम्प बन्द गरेर बस्नुभन्दा १० देखि १५ हजार मासिकरुपमा बुझाएर तेल ल्याइो गरिएको थियो ।’

भारतको नाकाबन्दीपछि शर्माको यो धन्दा झन फस्टायो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार शर्माले ठूला आयोजनालाई बल्क (ठूलो परिमाण)मा तेल दिँदा ७-८ लाख रुपैयाँ समेत लिने गरेको देखिएको छ ।

थानकोट डिपोबाटै ठगीको सुरुवात

तोकिएभन्दा कम परिणाममा तेल दिएको भन्दै प्रहरीले १७ वटा पम्पमा सील गरेको छ र सञ्चालकहरुलाई समातेको छ । तर, यसलाई आयल निगमबाट संस्थागत गरेको देखिएको छ ।

एक ट्यांकरमा १२ हजार लिटर तेल अट्छ । तर, थानकोट डिपोबाट १२ हजार भनेर दिइने तेलमा नै ठगी हुने गरेको देखिएको छ । ‘हामीले ८ लाख डिपोजिट गरेका छौं र तेल लिन जाँदा १० बजे नै आयल निगमको खातामा पैसा जम्मा गरेर जान्छौं’ एक व्यवसायीले भने-‘तर, १२ हजारभन्दा कम तेल दिइन्छ ।’

उनीहरुका अनुसार १२ हजार भनेर दिइने तेल ११ हजार ७ सयदेखि ८ सय लिटर मात्र तेल हुन्छ । नापतौल विभागकै मिलोमतोमा ठगी गर्ने गरेको व्यवसायीहरुको आरोप छ । आयल निगमले नै कम तेल दिएपछि आफूहरुले पनि उपभोक्ताहरुलाई ठगी गर्ने गरेको उनीहरु बताउँछन् ।

अपराध महाशाखाले यसबारे अनुसन्धान गरिरहेको छ र व्यवसायीहरुको आरोप सत्य नजिक देखिएको एक प्रहरी अधिकारीको भनाइ छ ।

ट्यांकर चालकको चिटिङ

थानकोट वा अमलेखगञ्जबाट तेल ल्याउँदा ट्यांकर चालकहरुले पनि तेल चोरी गर्ने गरेको व्यवसायीहरुको गुनासो छ । समान्यतया २० देखि ४० लिटरसम्म तेल निकाल्दा व्यवसायीहरुले वास्ता नगर्ने गरेका छन् । केही भनिहाले भोलिबाट तेल ल्याउँदिन भन्ने गरेको उनीहरुको गुनासो छ ।

तेल तस्करीको अनुसन्धान गरिरहेको अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल पनि यसलाई स्वीकार गर्छन् । यसअघि आफू नारायणी अञ्चलमा रहँदा पनि तेल चोरी गर्दै गरेका चालकहरुलाई पक्राउ गर्दा उनीहरुले आन्दोलन गरेको खनालले सुनाए । अहिले पनि त्यस्तो गुनासो आइरहेको उनले सुनाए ।

एक व्यक्तिको सात वटासम्म पम्प

प्रहरीको अनुसन्धानका क्रममा एकैजनाले भाडामा लिएर सातदेखि वटासम्म पम्प सञ्चालन गरेको पाइएको छ । टंककुमार श्रेष्ठले काठमाडौं, भक्तपुरदेखि अमलेखगञ्जसम्म पम्प चलाएका रहेछन् ।

उनी यसअघि पनि ठगीमा पक्राउ गरेर ३० लाख रुपैयाँ धरौटीमा छुटेका व्यवयायी भएको पाइएको छ ।

उनले प्रशान्ति, बंगलामुखी, इलाइट, गुहेश्वरी, न्यू लामा, जलपा लगायतका पम्प चलाएका रहेछन् । उनी अहिले फरार छन् । र, उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक व्यवसायीले बताएअनुसार दिनमा ५-६ हजार लिटर डिजेल-पेट्रोल बिक्री हुने पम्पबाट आयल निगमदेखि नापतौल विभागसम्म बुझाएर पनि मासिक ३ लाखभन्दा बढी कमाइ हुने गरेको छ । यसले मिलेमतोमा उपभोत्तालाई ठगी गर्ने र पैसा कमाउने धन्दाका लागि भाडामा पम्प चलाउनेहरु बढेको छ ।

प्रहरीका अनुसार धेरै पम्पहरुमा म्यानुअलमा डलर गियर राख्दा १०० मा दुई लिटरसम्म ठगी गर्न सकिन्छ र यो कुनै पनि बेला पम्प सञ्चालकले राख्न र हटाउन सक्छन् । त्यसैले प्रहरीले कारबाही सुरु गरेको सूचना पाउनासाथ धेरै पम्पहरुले डबल गिएर हटाएर प्रहरीलाई छल्ने प्रयास गर्छन् ।

ADDDDDDDDD
प्रतिक्रिया दिनुहोस